बाँके । बाँकेको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६९ करोड ५६ लाख २९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगार सिर्जना तथा सुशासनलाई केन्द्रमा राख्दै गाउँपालिकाले आगामी वर्षका लागि महत्वाकांक्षी बजेट तथा नीति कार्यक्रम अघि सारेको हो।
गाउँसभाको २०औँ अधिवेशनमा प्रस्तुत गरिएको बजेट गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले सभासमक्ष पेश गर्नुभएको थियो। कुल बजेटमध्ये संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानतर्फ ४९ करोड ९६ लाख २९ हजार रुपैयाँ समेटिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ १ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।
बजेटमा आर्थिक विकासतर्फ ४५ लाख ७४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ ४ करोड ११ लाख ४४ हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १२ करोड ४५ लाख ११ हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २७ लाख रुपैयाँ तथा सुशासन एवं संस्थागत क्षमता विकासतर्फ ११ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष छब्बन खाँको तर्फबाट वडा नम्बर १ का अध्यक्ष मोहम्मद रजा राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको थियो।
नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास, श्रम तथा रोजगार, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, सुशासन तथा सेवा प्रवाह सुधार, राजस्व परिचालन र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखिएको छ।
गाउँपालिका प्रवक्ता टिका नाथ यादवले गाउँसभामा उपस्थित जनप्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गर्दै गाउँपालिकाको समृद्धि, सुशासन र नागरिकमैत्री सेवा प्रवाहका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।
सभामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव परशुराम उपाध्यायले नीति तथा कार्यक्रम तथा बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता र स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँसभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै पारित नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी कार्यान्वयनमार्फत जनताको अपेक्षा पूरा गरिने प्रतिबद्धता जनाउनुभयो।
गाउँसभाबाट प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको थियो ।
कार्यक्रममा गाउँपालिकाका ६ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जानकारी दिनुभयो ।