बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व मोहर्रम को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले आफ्नो मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरूमा बिदा दिने घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहद्वारा जारी विज्ञप्तिअनुसार मोहर्रम पर्वको सम्मानस्वरूप गाउँपालिका अन्तर्गतका कार्यालय, विद्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा रहनेछ। यद्यपि स्वास्थ्य सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरू नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
मोहर्रम पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष शाहले यस पर्वले मानव समाजलाई सत्य, न्याय, त्याग, धैर्यता र बलिदानको मार्गमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो। उहाँले करबलाका शहीदहरूको स्मरण गर्दै अन्यायविरुद्ध संघर्ष गर्ने साहस र मानवताको पक्षमा अडिग रहने सन्देश मोहर्रमको मुख्य विशेषता रहेको उल्लेख गर्नुभयो ।
“मोहर्रम केवल एउटा धार्मिक पर्व मात्र नभई सत्य र न्यायका लागि गरिएको महान् बलिदानको स्मरण गर्ने अवसर हो । यस पर्वले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र आपसी भाइचाराको भावना बलियो बनाओस् भन्ने कामना गर्दछु,” अध्यक्ष शाहले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।
उहाँले नरैनापुर बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक समाजको साझा थलो भएकाले सबै धर्म, संस्कार र परम्पराको सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ।
इस्लामिक पात्रोको पहिलो महिना मोहर्रमलाई मुस्लिम समुदायले विशेष श्रद्धाका साथ मनाउने गर्दछन्। विशेषगरी आशुराको दिन करबलामा शहादत प्राप्त गरेका इमाम हुसैन र उहाँका साथीहरूको सम्झना गरिन्छ। इमाम हुसैनको त्याग र बलिदानलाई अन्यायविरुद्धको संघर्ष तथा सत्यको विजयको प्रतीकका रूपमा लिने गरिन्छ।
गाउँपालिकाले मोहर्रम पर्वले धार्मिक सहिष्णुता, सामाजिक एकता र मानवीय मूल्यहरूको संरक्षणमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण मुस्लिम समुदायलगायत सबै नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।
मोहर्रमको ऐतिहासिक र धार्मिक महत्व
इस्लाम धर्ममा मोहर्रमलाई अत्यन्त महत्वपूर्ण महिनाका रूपमा लिइन्छ। इस्लामिक पात्रो (हिजरी संवत्) को पहिलो महिना मोहर्रम हो। यस महिनाको दशौँ दिनलाई ‘आशुरा’ भनिन्छ, जुन दिन इमाम हुसैन र उहाँका साथीहरूले अन्याय र अत्याचारविरुद्ध संघर्ष गर्दै करबलाको युद्धमा शहादत प्राप्त गरेको सम्झना गरिन्छ।
सन् ६८० मा वर्तमान इराकको करबला क्षेत्रमा भएको उक्त घटनाले इस्लामिक इतिहासमा विशेष महत्व राख्छ। पैगम्बर मोहम्मदका नाति इमाम हुसैनले अन्याय र निरंकुशताको विरुद्ध उभिएर सत्य र न्यायको पक्षमा आफ्नो जीवन बलिदान दिनुभएको थियो। त्यसैले मोहर्रम केवल शोकको पर्व मात्र नभई सत्य, न्याय, मानवता, धैर्यता र बलिदानको सन्देश दिने अवसरका रूपमा पनि मनाइन्छ।
विश्वभरका मुस्लिम समुदायले मोहर्रमका अवसरमा धार्मिक सभा, प्रवचन, प्रार्थना तथा करबलाका शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्ने गर्दछन्। नेपालमा पनि मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेका क्षेत्रहरूमा मोहर्रम विशेष श्रद्धा र सम्मानका साथ मनाइन्छ ।