बाँके । स्वास्थ्य सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनमा बाँकेको जानकी गाउँपालिका जिल्लाका स्थानीय तहमध्ये दोस्रो उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा जानकी गाउँपालिकाले ७० अंक प्राप्त गर्दै जिल्लामा दोस्रो स्थान हासिल गरेको हो ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादनका आधारमा उत्कृष्ट स्थानीय तहलाई सम्मान गरिएको हो । मूल्याङ्कनमा डुडुवा गाउँपालिका ७३ दशमलव ७ अंकसहित पहिलो, जानकी गाउँपालिका ७० अंकसहित दोस्रो र नरैनापुर गाउँपालिका ६९ दशमलव ८९ अंकसहित तेस्रो भएका छन् ।
स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाह तथा स्वास्थ्य सूचकमा हासिल गरेको उपलब्धिका आधारमा जानकीले दोस्रो स्थान प्राप्त गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो । उहाँले स्वास्थ्य सेवालाई गाउँपालिकाले प्राथमिकतामा राख्दै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास गर्दै आएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार स्थानीय तहको स्वास्थ्य सेवा तथा कार्यक्रमको कार्यसम्पादन मूल्याङ्कन गर्दा २८ वटा स्वास्थ्य सूचकलाई आधार बनाइएको थियो । स्वास्थ्य सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र प्राप्त उपलब्धिलगायतका आधारमा स्थानीय तहको मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो ।
जानकी गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै नियमित खोप, मातृ तथा शिशु स्वास्थ्य, गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, स्वास्थ्य परीक्षण तथा औषधि वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य संस्थामार्फत नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण, जनशक्तिको परिचालन तथा नागरिकको पहुँच अभिवृद्धिमा जोड दिइएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै सेवाबाट वञ्चित तथा पहुँचमा कठिनाइ भएका समुदायलाई स्वास्थ्य सेवाको दायरामा ल्याउने प्रयास भइरहेको छ ।
स्वास्थ्य क्षेत्रमा प्राप्त यो उपलब्धिलाई गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा गरेको निरन्तर सुधारको परिणामका रूपमा लिएको छ । आगामी दिनमा स्वास्थ्य संस्थाको पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरण व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य गाउँपालिकाले लिएको छ ।
स्वास्थ्य कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा राप्तीसोनारी गाउँपालिका चौथो, खजुरा गाउँपालिका पाँचौँ, कोहलपुर नगरपालिका छैटौँ, बैजनाथ गाउँपालिका सातौँ र नेपालगञ्ज उपमहानगरपालिका आठौँ स्थानमा रहेका छन् ।
बुधबारदेखि सुरु भएको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।