बाँके । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बडादसैँले समाजमा आपसी एकता, सद्भाव र भाइचारा बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले दसैँ सबै नेपालीको साझा पर्व भएकाले विभाजित भएर नभई एकताबद्ध भएर मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
बडादसैँ तथा नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा अध्यक्ष खाँले जानकी गाउँपालिकाका छवटै वडाका विभिन्न टोलमा स्थापना गरिएका दुर्गा माताका मूर्तिसहितका पूजास्थलको अवलोकन तथा दर्शन गर्नुभएको थियो। सो अवसरमा उहाँले नवदुर्गा समितिहरूलाई व्यक्तिगत तर्फबाट आर्थिक सहयोगसमेत प्रदान गर्नुभएको थियो ।
गाउँपालिकाका विभिन्न टोलमा पुग्नुभएका अध्यक्ष खाँलाई स्थानीयवासीले आफ्नै गाउँघरमा गाउँपालिकाको अभिभावकलाई भेट्न पाएको भन्दै स्वागत गरेका थिए ।
अध्यक्ष खाँले नवरात्रले सबैलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गर्दै एकअर्काको धर्म, आस्था, संस्कृति र पृष्ठभूमिलाई स्वीकार तथा सम्मान गरेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले दसैँले सबै हिन्दु धर्मावलम्बीमा हर्षोल्लास, शक्ति र उत्साह थपोस् भन्ने कामनासमेत गर्नुभयो ।
आस्था र पृष्ठभूमि फरक भए पनि सबै समुदायबीच समान सम्मान, अधिकार र जिम्मेवारीको भावना विकास हुनुपर्ने उहाँको भनाइ थियो। सामाजिक सद्भाव कायम राख्दै सबै समुदायलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता गाउँपालिकाले लिएको पनि अध्यक्ष खाँले बताउनुभयो ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजा–आराधना गर्ने चलन छ। नवरात्रका अवसरमा विभिन्न स्थानमा दुर्गा माताका मूर्ति स्थापना गरी पूजाआजा गर्ने गरिन्छ ।
अवलोकन तथा दर्शनका क्रममा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक रामअचल धोबी, रब्बान शेषलगायतको सहभागिता रहेको संयोजक धोबीले जानकारी दिनु भयो ।