बाँके । बाँकेको जानकी गाउँपालिकाको १९औँ गाउँसभा नीति, कार्यक्रम र विकासका प्राथमिकतामाथि व्यापक छलफलसहित सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२ सालको पुस २९ गतेसम्मको आय–व्यय विवरणसहितको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । सभाका सदस्य सचिव एवं प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार उक्त अवधिमा गाउँपालिकाको कुल खर्च १४ करोड ४४ लाख ३१ हजार १३५ रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न गाउँसभाले स्थानीय शासन, सेवा प्रवाह र विकास व्यवस्थापनसँग सम्बन्धित ६ वटा महत्वपूर्ण कार्यविधि अनुमोदन गरेको छ । सभामा विकास, सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधारका विषयमा गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरिएको थियो ।
गाउँसभामा बोल्दै वडा नम्बर ५ का अध्यक्ष तथा पालिका प्रवक्ता टिकानाथ यादवले प्रत्येक वडामा स्थानीय धार्मिक आस्था र संस्कृतिअनुसार अन्त्येष्टि स्थल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले स्वास्थ्य संस्थामा देखिएको क्यालसियमको अभावलाई मध्यनजर गर्दै पालिकाको बजेटबाट खरिद गरी स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन आग्रह गर्नुभयो । साथै चालु आर्थिक वर्षभित्र कन्या विद्यालयलाई माध्यमिक (मावि) स्तरमा स्तरोन्नति गर्नेतर्फ पालिकाले प्राथमिकताका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सामाजिक विकास संयोजक रामअचल धोबीले सहकारी संस्था मार्फत अनुदानमा ९ हजार ९९ बोरा युरिया, ७ हजार ३८१ बोरा डिएपी र १०२ बोरा पोटास मल वितरण गरिएको जानकारी गराउँदै किसानको बढ्दो मागलाई ध्यानमा राखी मलको परिमाण अझै वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी कार्यपालिका सदस्य राजेन्द्र सिंहले युवामैत्री र खेलकुदमैत्री पूर्वाधार विकासका लागि गाउँपालिकामा रंगशाला निर्माण गर्न पहल गर्न आग्रह गर्नुभयो । गाउँसभामा वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले आ–आफ्ना वडामा देखिएका समस्या, आवश्यकता र विकासका प्राथमिकताबारे सुझाव प्रस्तुत गरेका थिए ।
सबै सुझावहरूलाई समेट्दै नीति तथा कार्यक्रम संशोधनसहित गाउँसभा सर्वसम्मत रूपमा सम्पन्न भएको सूचना प्रविधि (आईटी) अधिकृत विकास जिसीले जानकारी दिनुभयो । कार्यक्रमको संचालन राजेन्द्र बाजपाइले गर्नु भएको थियो ।
सभामा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने बैठकमा उठेका जिज्ञासा र सवालहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष खाँले गाउँसभाको औपचारिक समापन गर्नुभएको थियो ।