बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३ का वडा अध्यक्ष अजय मिश्रालाई पितृशोक परेको छ। उनका बुबा पुत्रिका प्रसाद मिश्राको ७१ वर्षको उमेरमा बिहीबार भारतको लखनउमा उपचारका क्रममा निधन भएको हो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि केही दिनअघि पुत्रिका प्रसादलाई उपचारका लागि भारतको लखनउ लगिएको थियो । त्यहाँस्थित अस्पतालमा भर्ना गरी उपचार सुरु गरिए पनि निमोनियाका कारण उनको निधन भएको अध्यक्ष शाहले जानकारी दिए ।
बुबाको निधनपछि वडा अध्यक्ष मिश्रासहित परिवारजन शोकमा डुबेका छन्। परिवारका लागि अभिभावक गुमाउनुको पीडा असह्य बनेको छ भने आफन्तजन तथा शुभेच्छुकहरूले परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन् ।
स्वर्गीय मिश्राको आज शुक्रबार दिउँसो २ बजे हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिने जानकारी परिवारले दिएको छ।
यस दुःखद घडीमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वर्गीय पुत्रिका प्रसाद मिश्राप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
अध्यक्ष शाहले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकमा रहेका परिवारजनलाई यो अपूरणीय क्षति सहन गर्ने धैर्य र शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।