रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन
१२ मंगशिर २०८३, शुक्रबार
बाँके, १० मंसिर । स्थानीय तहका असल अभ्यास, सेवा प्रवाह र विकासका सम्भावनाबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले रोल्पाको सुनिल स्मृति गाउँपालिकाको टोलीले बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अवलोकन तथा अन्तरपालिका सिकाइ भ्रमण गरेको छ ।
सुनिल स्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रिजालको नेतृत्वमा आएको टोलीले नरैनापुर गाउँपालिकाका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था तथा नेपाल–भारत सीमावर्ती क्षेत्रको अवलोकन गरेको हो । भ्रमणका क्रममा टोलीले नरैनापुरका विकास गतिविधि, प्रशासनिक कार्यसम्पादन, स्थानीय सम्भावना र चुनौतीबारे जानकारी लिएको थियो ।
नरैनापुर गाउँपालिकामा पुगेको टोलीलाई प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा दुवै पालिकाका कर्मचारीबीच स्थानीय तहको कामकारबाही, प्रशासनिक व्यवस्थापन, आर्थिक अनुशासन, सेवा प्रवाह र विकास निर्माणका अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वली र लेखा अधिकृत प्रकाश अधिकारीले गाउँपालिकाको भौगोलिक अवस्था, सामाजिक तथा आर्थिक परिवेश, विकासका प्राथमिकता र सञ्चालनमा रहेका कार्यक्रमबारे टोलीलाई जानकारी गराउनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत वलीले स्थानीय तहको विकासका लागि उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग, शाखाबीचको समन्वय र नागरिकलाई सहज सेवा प्रवाह महत्वपूर्ण हुने बताउनुभयो । उहाँले फरक भौगोलिक तथा सामाजिक परिवेश भएका पालिकाबीच अनुभव आदानप्रदान गर्दा एकअर्काका सफल अभ्यासबाट सिक्ने र आफ्ना कमजोरी सुधार्ने अवसर प्राप्त हुने धारणा राख्नुभयो ।
त्यसैगरी, लेखा अधिकृत प्रकाश अधिकारीले स्थानीय तहमा बजेटको प्रभावकारी कार्यान्वयन, आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र योजनाको नियमित अनुगमन आवश्यक रहेको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले विकास बजेटलाई नागरिकको आवश्यकता र प्राथमिकतासँग जोडेर कार्यान्वयन गर्न सके स्थानीय तहबाट प्रदान गरिने सेवाको प्रभावकारिता बढ्ने बताउनुभयो ।
सुनिल स्मृति गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रिजाल, वरिष्ठ लेखा अधिकृत मधुसुदन गैरे, स्वास्थ्य संयोजक मोतिम आलम, नायब सुब्बा ऋषिकेश केसीलगायत सहभागी हुनुहुन्थ्यो । टोलीले सुनिल स्मृति गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि भइरहेका प्रयास, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र स्थानीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोड्ने योजनाबारे पनि जानकारी गराएको थियो ।
भ्रमणका क्रममा सुनिल स्मृति गाउँपालिकाको टोलीले नरैनापुरमा रहेका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूको अवलोकन गरेको थियो । साथै नेपाल–भारत सीमावर्ती क्षेत्रको भौगोलिक अवस्था, स्थानीय जनजीवन, आवागमन र विकासका सम्भावनाबारे स्थलगत जानकारी लिएको थियो ।
नरैनापुरको भौगोलिक विविधता, धार्मिक तथा सांस्कृतिक महत्व र सीमावर्ती अवस्थाले स्थानीय विकासका लागि सिर्जना गरेका अवसर तथा चुनौतीबारे टोलीले अध्ययन गरेको थियो । विशेषगरी स्थानीय पर्यटनको सम्भावना पहिचान, पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका विषयमा अनुभव आदानप्रदान भएको थियो ।
सुनिल स्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले भ्रमणबाट प्राप्त अनुभव र अध्ययनले आफ्नो गाउँपालिकाको विकास योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्को स्थानीय तहको कामकारबाही नजिकबाट बुझ्ने, नयाँ अभ्यास सिक्ने र आफ्नो पालिकामा उपयोगी देखिएका अभ्यास लागू गर्ने उद्देश्यले भ्रमण गरिएको बताउनुभयो ।
वरिष्ठ लेखा अधिकृत मधुसुदन गैरेले अन्तरपालिका भ्रमणले प्रशासनिक तथा आर्थिक व्यवस्थापनका अभ्यासबारे व्यावहारिक जानकारी लिन सहयोग पुगेको बताउनुभयो । स्थानीय तहले आफ्नो स्रोतसाधन र आवश्यकताअनुसार योजना तथा बजेट व्यवस्थापन गर्दा अन्य पालिकाका अनुभव उपयोगी हुने उहाँको भनाइ थियो ।
स्थानीय तहबीच हुने यस्ता अध्ययन तथा अनुभव आदानप्रदानले प्रशासनिक क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सुधार र विकासका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुग्ने बिश्वास गरिएको छ । भौगोलिक, सामाजिक र आर्थिक अवस्था फरक भए पनि स्थानीय सरकारका साझा चुनौती समाधान गर्न एकअर्काका अभ्यासबाट सिक्नु प्रभावकारी माध्यम बन्न सक्छ ।
सुनिल स्मृति गाउँपालिकाको टोली भ्रमण तथा अध्ययन पूरा गरी बिहिबार आफ्नो पालिका फर्किएको छ ।