बाँके, १० मंसिर । आर्थिक अभाव र उपचारका लागि टाढाको अस्पताल पुग्नुपर्ने बाध्यताका कारण लामो समयदेखि आँखाको समस्या सहेर बसेका बाँकेको राप्तीसोनारी क्षेत्रका नागरिकले गाउँमै विशेषज्ञ सेवा पाएका छन् । बैजापुरमा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेका छन् ।
राप्तीसोनारी अस्पतालमा मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको शिविरमा कुल एक हजार ४९५ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा मोतियाबिन्दुको समस्या देखिएका २१८ जनाको सफल शल्यक्रिया गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।
शल्यक्रिया गराउनेमध्ये ११० जना महिला र १०८ जना पुरुष रहेका छन् । लामो समयदेखि धमिलो देख्ने तथा मोतियाबिन्दुका कारण दृष्टि गुमाउने अवस्थामा पुगेका बिरामीले उपचारपछि पुनः स्पष्ट देख्न सक्ने अवसर पाएका छन् ।
तिलगंगा आँखा अस्पतालको शाखाअन्तर्गत रहेको आँखा उपचार केन्द्र बैजापुरको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा ज्येष्ठ नागरिक, महिला तथा आर्थिक रूपमा कमजोर परिवारका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
शिविरमा तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. अलेना गौचन र डा. विश्व तिमिल्सिनाको नेतृत्वमा आएको प्राविधिक टोलीले बिरामीको परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरेको थियो । विशेषज्ञ चिकित्सक र प्राविधिक टोलीबाट सेवा उपलब्ध भएपछि स्थानीय नागरिकलाई उपचारका लागि नेपालगञ्जलगायतका सहर धाउनुपर्ने बाध्यता केही हदसम्म कम भएको छ ।
शिविरमा मोतियाबिन्दुको शल्यक्रियासँगै अन्य आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका, अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका र लामो समयदेखि उपचारको पर्खाइमा रहेका नागरिकका लागि शिविर राहतको माध्यम बनेको छ । विशेषगरी ज्येष्ठ नागरिकका लागि आँखाको उपचार घरनजिकै उपलब्ध हुँदा स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुगेको छ ।
आँखाको समस्या समयमै पहिचान र उपचार हुन नसक्दा सामान्य दैनिक कामकाजदेखि परिवार र समाजसँगको सक्रिय सहभागितासमेत प्रभावित हुने गर्दछ । मोतियाबिन्दुजस्ता उपचारयोग्य समस्याका कारण दृष्टि कमजोर भएका नागरिकलाई लक्षित गरी गाउँमै विशेषज्ञ सेवा पुर्याउँदा उनीहरूको जीवन सहज बनाउन सकिने शिविरले देखाएको छ ।
गाउँपालिकाले आगामी दिनमा पनि आर्थिक तथा भौगोलिक कारणले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी यस्ता निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।