काठमाडौं । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छारछुम जोड्ने पुलको नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबीच भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा पुल उद्घाटन भएको हो । दुई देशका प्रधानमन्त्रीबाटै पुलको उद्घाटन हुने भएपछि भारतीय पक्षले पुल क्षेत्रमा आवश्यक साजसज्जा, प्राविधिक उपकरण तथा भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मोटरेबल पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए ।
भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो दुई लेनको पुल नेपाल–भारतबीचको सीमा पूर्वाधार विकास तथा आपसी सम्पर्क विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
पुल उद्घाटनको तयारीसँगै नेपालतर्फ सुरक्षा तथा भन्सार व्यवस्थापनका लागि अस्थायी संरचना निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि सीमा क्षेत्रमा आवश्यक जनशक्ति परिचालन र यात्रु तथा सवारीसाधनको आवागमन व्यवस्थित गर्न नेपालले तयारी थालेको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पुलको नेपाली भूभागतर्फ प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका लागि तत्काल अस्थायी संरचना निर्माण गर्न लागिएको छ । प्रहरी बस्नका लागि आवश्यक संरचना तयार भइसकेको र भन्सारका लागि अस्थायी संरचना निर्माण भइरहेको उनले जानकारी दिए ।