काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासनहीनता मौलाउँदै गएको बताएका छन्।
सोमबारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आन्तरिक मतभेदलाई कमिटीमा छलफल गर्नुको साटो सामाजिक सञ्जाल र मिडियामा छताछुल्ल पार्ने कार्य तत्काल रोक्नुपर्ने बताए।
उनले देश अत्यन्तै जटिल मोडमा रहेको र लोकतन्त्र, संविधान तथा राष्ट्रियतामाथि हमला भइरहेको दाबी गरे। उनले यस्तो प्रतिकूल समयमा पार्टी पङ्क्ति एक ढिक्का भएर उभिनुपर्नेमा जोड दिँदै अनुशासनलाई पार्टीको मुख्य हतियार बनाउनुपर्ने बताए।
उनले भने, ‘पार्टीभित्रका असहमति र बहसलाई कमिटी तथा आन्तरिक बैठकमै खुला रूपमा राखिनुपर्छ। तर, सार्वजनिक रूपमा नेतृत्वविरुद्ध अभिव्यक्ति दिने, पार्टीको प्रतिष्ठामा असर पार्ने र आन्तरिक विषयलाई सामाजिक सञ्जालमार्फत विवादित बनाउने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ।’