जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत नलिँदै राजीनामा दिने घोषणा गरेका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
उनी गत मंसिर १९ गते मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका यादवले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा घोषणा गरेका हुन्।
सभामुख रामअशिष यादवले विश्वासको मत माग्न समय दिएकोमा रोष्टममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफू पदमा रहेको समयको उपलब्धि सुनाउँदै राजीनामाको घोषणा गरे।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए।
सभामुख यादवले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेकाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुपर्ने आवश्यकता नभएको सदनलाई जानकारी गराए ।