बाँके । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले विद्युत आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि आक्रामक अभियान सुरु गरेको छ । केन्द्र प्रमुख संजय कुमार मिश्र आफैं फिल्डमा खटिँदै मिटर छड्के अनुगमनलाई तीव्र बनाउनु भएको छ ।
सार्वजनिक बिदाको सदुपयोग गर्दै प्रमुख मिश्रले विभिन्न स्थानमा पुगेर सिंचाई, ग्राहस्थ लगायतका ग्राहकहरुको स्थलगत निरीक्षण गरीरहनु भएको छ । अनुगमनका क्रममा सेवा सुधारका लागि आवश्यक निर्देशन दिइनु भयो । टोलीमा लेखा अधिकृत नन्दसिंह सिकर्मी पनि सहभागी रहनु भएको छ ।
नेपालगन्ज वितरण केन्द्रले पछिल्लो समय विद्युत आपूर्तिमा उल्लेखनीय सुधार गर्दै बक्यौता असुलीमा समेत कडाइ गरेको जनाएको छ । केन्द्रका अनुसार पछिल्ला तीन महिनामा ५ वटा नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या अन्त्य भएको छ । यस वर्ष गर्मीयाममा विद्युत आपूर्ति अवरुद्ध नहुने दाबी समेत गरिएको छ ।
बक्यौता नतिर्ने ग्राहकविरुद्ध कडा कदम चाल्दै हालसम्म ५ हजारभन्दा बढी लाइन काटिएको छ । तीमध्ये ४ हजार ग्राहकबाट करिब ७ करोड रुपैयाँ असुल गरी पुनः विद्युत सेवा सञ्चालनमा ल्याइएको प्रमुख मिश्रले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा जानकी गाउँपालिकाको बेलभार क्षेत्रमा सिंचाईका लागि जडान गरिएका ४ वटा मिटर अन्य परियोजनामा दुरुपयोग गरिएको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
ग्रामीण क्षेत्रमा पुगेर प्रत्यक्ष समस्या समाधानमा केन्द्रित रहेको बताउँदै प्रमुख मिश्रले सिंचाईका करिब ६ हजार ग्राहक भए पनि अन्य प्रयोजनमा मिटर प्रयोग भइरहेको गुनासो आएपछि अनुगमनलाई गाउँ–बस्ती केन्द्रित गरिएको स्पष्ट पार्नु भयो ।
“केन्द्रीय प्रसारण लाइनबाट समस्या नआएसम्म हामीले आपूर्तिमा कुनै समस्या हुन दिँदैनौं,” प्रमुख मिश्रले भनाई छ ।
प्राधिकरणको यो सक्रियता सँगै विद्युत चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण र सेवा सुधारमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । स्थलगत निरीक्षणमा निस्किनु भएका प्रमुख शर्मालाई युथ टुडेको कार्यालयमा सम्पादक आलम खानले स्वागत गर्नु भएको थियो ।