बाँके । बाँकेको जानकी गाउँपालिकामा आज एउटा भवन मात्रै ठडिएको छैन,यहाँ दशकौँदेखि थिचिएका पीडा, डर र विवशतामाथि आशाको उज्यालो बल्न थालेको छ । ७ हजार २ सय ६३ घरधुरी र ४६ हजार ५ सय ३६ जनसंख्या रहेको जानकी गाउँपालिका अब “उपचारका लागि गाउँ छाड्नुपर्ने बाध्यता” बाट मुक्त हुने संघारमा पुगेको छ । निर्माणधिन १५ शय्याको आधारभूत अस्पताल अन्तिम चरणमा पुगेपछि मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेको यस गाउँमा भरोसाको हावा बग्न थालेको छ ।
सामान्य ज्वरो, पेट दुखाइ, सुत्केरी पीडा वा आकस्मिक दुर्घटना- यी सबैका लागि जानकीका बासिन्दाले विगतमा नेपालगञ्ज, कोहलपुर वा भारतसम्म धाउनुपर्थ्यो । समयमै उपचार नपाएर ज्यान गुमाएका कथाहरू अझै गाउँका गल्ली र बस्तीमा गुञ्जिरहेका छन् । त्यही इतिहासमाथि आज अस्पतालको भवन उभिएको छ - आँखामा भरोसा, मनमा अपेक्षा बोकेर ।
गाउँपालिका अध्यक्ष छब्बन खाँ भन्नुहुन्छ,“स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । जानकीका नागरिकलाई पायक पर्ने स्थानमै उपचार पाउने अधिकार सुनिश्चित गर्न अस्पताल निर्माण गरिएको हो । तर भवन मात्र बनेर हुँदैन, सेवा चल्नका लागि जनशक्ति चाहिन्छ ।”
अध्यक्ष छब्बन खाँ ले केन्द्र र प्रदेश सरकार संग आग्रह गर्दै भन्नुभयो,“स्थानीय सरकारको चाहना मात्रले अस्पताल सञ्चालन हुँदैन । डाक्टर, नर्स, ल्याब टेक्निसियन, फार्मेसी र आवश्यक जनशक्ति केन्द्र र प्रदेशले सुनिश्चित गर्नुपर्छ । भवन तयार भयो भने पनि जनशक्ति नआए अस्पताल ताला लागेको भवन मात्र हुन्छ ।”
उहाँका अनुसार तत्काल जनशक्ति व्यवस्थापनका लागि संघ र प्रदेश सरकारले गम्भीर चासो नदिए जानकीको यो सपना अधुरो हुने खतरा छ ।
जनसंख्या ठूलो भए पनि जानकी गाउँपालिका राज्यको सेवा प्रवाहमा लामो समयसम्म पछाडि पर्यो । विशेषगरी गरिब, दलित, मधेसी र मुस्लिम समुदायका लागि स्वास्थ्य सेवा झन् टाढाको सपना थियो । आर्थिक अभावले अस्पतालसम्म पुग्न नसक्ने, महिलाले सुत्केरी हुँदा जोखिम मोलेर घरमै बस्नुपर्ने अवस्था अहिले अन्त्य हुने संकेत त देखिएको छ । तर त्यो संकेत व्यवहारमा बदलिन जनशक्ति अनिवार्य छ ।
वडा नं. ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिनानाथ यादव अस्पताललाई “गाउँमै सिंहदरबार” को संज्ञा दिनु भयो । उहाँले भन्नुभयो,“सदरमुकाम नजिकै भएर पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाबाट जानकी पछाडि परेको थियो । अब नागरिकलाई आधारभूत आवश्यकताबाट बञ्चित हुन दिने छैनौं । अस्पतालको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ, दुई महिनाभित्र भवन हस्तान्तरण हुन्छ ।”
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले निर्माणधिन अस्पतालले पालिकाको सेवा प्रवाहमा केवल संरचनागत होइन, गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार अस्पताल सञ्चालनमा आएपछि नागरिकले समयमै, सुलभ र व्यवस्थित स्वास्थ्य सेवा पाउनेछन्, जसले जनताको जीवनस्तर सुधार गर्नुका साथै स्थानीय सरकारप्रतिको विश्वासलाई थप मजबुत बनाउनेछ ।
गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत मतिन अन्सारी का अनुसार अस्पताल निर्माणका लागि १७ करोड ५४ लाख रुपैयाँमा बोलपत्र खोलिएको थियो, जसमा निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाख रुपैयाँमा काम पाएको हो ।
संघीय सरकारले समयमा बजेट नदिँदा निर्माण ढिलो भए पनि भवन अन्तिम चरणमा पुग्नु स्थानीय सरकारको प्रयासको उदाहरण हो । तर यहीँ अर्को चुनौती थपेको छ जनशक्ति व्यवस्थापन स्थानीय सरकारको मात्र हातमा छैन ।
सामाजिक विकास संयोजक रामअचल धोबी अस्पताल सञ्चालनमा आएपछि जानकीवासीलाई उपचारका लागि बाहिर जानु नपर्ने बताउनु भयो ।
स्थानीय खालिद अहमदले भन्नुभयो,“भवन बनेको देख्दा खुसी लाग्छ । तर डाक्टर आएनन् भने फेरि हामी शहर धाउनै पर्ने हो कि भन्ने डर पनि छ ।”
मनोहर यादवले थप्नुभयो,“सुत्केरी हुँदा अस्पताल नजिक हुनु ठूलो कुरा हो । तर त्यहाँ सेवा दिने मान्छे भएन भने भवनको के अर्थ ?”
स्थानीय छेदा लोनियाले भन्नुभयो,“अस्पताल नजिकै हुनु ठूलो कुरा हो । तर भित्र डाक्टर, औषधि नभए फेरि हामी गरिबको हालत उस्तै हुन्छ ।”
अब्बास बेहनाको चिन्ता पनि उस्तै छ । “भवन बन्यो, अब राज्यले जनशक्ति पठाओस् । नत्र परिवर्तन कागजमै सीमित हुन्छ ।”
१५ शय्याको यो आधारभूत अस्पताल जानकी गाउँपालिकाका लागि केवल संरचना होइन । यो राज्यको प्रतिबद्धताको परीक्षा हो । ४६ हजारभन्दा बढी नागरिकको जीवनसँग गाँसिएको यो अस्पताल डाक्टर, नर्स र सेवा बिना अधुरो सपना बन्न सक्छ ।
जानकी गाउँपालिकामा निर्माणाधीन अस्पतालले गाउँमै उपचारको संस्कृति विकास गर्दै, “स्वस्थ गाउँ, सक्षम नागरिक” को यात्रालाई नयाँ गति दिने विश्वास गरिएको छ ।