बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माण सुरु भएको छ । नेपालगञ्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि स्थानीयहरुले जग्गादान गरे लगत्तै व्यवस्थित मशानघाट निर्माणको काम सुरु गरिएको नेकपा एमाले बाँकेका सदस्य मिन बहादुर मल्लाले बताउनु भयो ।
व्यवस्थित घाट र आवश्यक संरचना निर्माणका लागि सांसद दिपा शर्माको पहलमा स्वास्थ्य मन्त्रालयको दिएको बजेटबाट निर्माण कार्य गरिएको मल्लाले बताउनु भयो । उहाँले भन्नुभयो माननीय दिपाको पहलमा स्वास्थ्य मन्त्रालयले मशानघाट निर्माणका लागि डुडुवा गाँउपालिकालाई ४० लाख पठाए लगत्तै डा. सुरेश कनोडियाको संयोजकत्वमा पालिकाले समिति निमार्ण गरी काम सुरु गरेको छ ।
मानिस बाचुञ्जेल जे जस्तो गरेपनि उसको अन्तिम घर (दाहसंस्कार) जाँदा दुख कष्ट नहोस भन्ने किसिमले मानिसको अन्तिम घर बनाउनका लागि पहिलो चरणमा स्वास्थ्य मन्त्रालय संग अनुरोध गर्दा मन्त्रालयले ४० लाख रुपैया बिनियोजन गरी मशानघाटमा खानेपानी, शौचालय र प्रतिक्षालय बनाउनका सुरु गरिएको बताउदै सांसद शर्माले मशानघाट निर्माणका लागि भौतिक पूर्वधार मन्त्रालयले एक करोड रुपैया बिनियोजन गरेको बताउनु भयो ।
शवदाह गृह गर्न आउँदा घाटमा देखिएको अव्यवस्थित संरचनालाई व्यवस्थापन गर्न एक वर्ष देखि निरन्तर प्रयास गर्दै आएको बताउदै उहाँले आधुनिक तरिकाको मशानघाट आउने आर्थिक वर्ष भित्रै निमार्ण सम्पन्न हुने जिकिर गर्नु भयो ।
डा. कनोडियाले भन्नुभयो, जुन किसिमले अहिले दाहसंस्कारमा समस्या छ यसलाई हटाउनको लागि हामी एकवद्ध तरिकाले लागेका छौ । राप्तीनदि किनारमा शवदाहस्थलसहित खानेपानी, विद्युत, आराम गर्ने हल, भलिबल कोर्ट, पार्क लगायतका संरचना निर्माणको योजनासहित जुटेको बताउनु भयो ।