बाँके । सङ्घीयता, लोकतन्त्र र संविधानको संरक्षणलाई मुख्य मुद्दा बनाउँदै विभिन्न राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले देशव्यापी जागरण अभियानलाई तीव्रता दिएको छ ।
मोर्चाले आइतबार नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी शीर्ष नेताहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्राप्त उपलब्धिको रक्षाका लागि जनतालाई संगठित र सचेत बनाउनुपर्नेमा जोड दिएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले विभिन्न आन्दोलन र बलिदानबाट प्राप्त सङ्घीयता, लोकतन्त्र र संविधानमाथि चुनौती देखिएकाले अग्रगामी मोर्चा गठन गर्नुपरेको बताउनुभयो । उहाँले मुलुकमा देखिएका पछिल्ला गतिविधिले राजनीतिक तथा संवैधानिक सङ्कट बढाउने जोखिम रहेको दाबी गर्दै त्यसबारे जनतालाई सचेत गराउन आफूहरू देश दौडाहामा निस्किएको बताउनुभयो ।
उहाँले अग्रगामी मोर्चा कुनै एक दलको राजनीतिक स्वार्थका लागि नभई संविधान, लोकतन्त्र र सङ्घीय व्यवस्थाको रक्षाका लागि साझा प्रयास भएको धारणा व्यक्त गर्नुभयो ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले जनताका अपेक्षा र चाहना पूरा हुन नसकेको उल्लेख गर्दै अधिकार प्राप्तिका लागि अब चुप लागेर बस्न नसकिने बताउनुभयो । उहाँले जनताको अधिकार सुनिश्चित गर्न आवश्यक परे आन्दोलनमार्फत दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वमन्त्री जनार्दन शर्माले पछिल्ला राजनीतिक घटनाक्रमले देशको राजनीतिक व्यवस्थामै चुनौती थपिएको बताउनुभयो । मुलुकलाई सही दिशामा अघि बढाउन अग्रगामी मोर्चाले देशव्यापी जागरण अभियान सुरु गरेको उहाँको भनाइ थियो ।
आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु शाहले जनताको अधिकार र संविधानको रक्षाका लागि नागरिकस्तरबाट पुनः जागरण आवश्यक रहेको बताउनुभयो । उहाँले जनतालाई आफ्नो अधिकारप्रति सचेत र सक्रिय बनाउन अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलगायत विभिन्न नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो । भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष कौशल धोबीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जसपाका केन्द्रीय सदस्य एवं नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।