धनगढी । एनसेल आजियाटा लिमिटेडले ग्राहकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’ अवधारणाअन्तर्गत आफ्नो पहिलो एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।
स्थानीय व्यवसायीसँगको सहकार्यमा सञ्चालनमा आएको उक्त सेन्टर धनगढी उपमहानगरपालिका–४ स्थित लोककली ओड, एनसेल सिम क्षेत्रमा रहेको छ। नयाँ अवधारणाअन्तर्गत सञ्चालनमा आएको सेन्टरबाट एनसेलका सम्पूर्ण ग्राहक सेवा तथा मोबाइल फोनसँग सम्बन्धित विभिन्न सामग्री एकै स्थानबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
सेन्टरमा ग्राहकले सिम कार्ड परिवर्तन, ई–सिम सक्रियकरण, केवाईसी अद्यावधिक, बिल भुक्तानीलगायत विभिन्न ग्राहक सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसका साथै मोबाइल फोन तथा विभिन्न प्रकारका एक्सेसरिजसमेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
सेन्टरको उद्घाटन एनसेलकी कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का र कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले धनगढीमा पहिलो ‘फोफो सेन्टर’ सञ्चालनमा आउनु देशभर एनसेलको सेवा पहुँच विस्तार गर्ने महत्वपूर्ण कदम भएको बताइन्। स्थानीय साझेदारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै ग्राहक अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको प्रतिबद्धता पनि यसबाट प्रतिबिम्बित हुने उनको भनाइ थियो।
धनगढीका ग्राहकलाई थप सहज र उत्कृष्ट सेवा प्रदान गर्न पाउँदा कम्पनी उत्साहित रहेको बताउँदै दाहालले आगामी दिनमा यस्ता सेन्टरमार्फत ग्राहकको आवश्यकतालाई अझ नजिकबाट सम्बोधन गर्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै, कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले नयाँ अवधारणासहित सञ्चालनमा आएको फोफो सेन्टर ग्राहकलाई थप सहज, छरितो र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण पहल भएको बताइन्।
स्थानीय व्यवसायीसँग सहकार्य गर्दै ग्राहकलाई उनीहरूकै नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले फोफो अवधारणा अघि बढाइएको उनले स्पष्ट पारिन्। उनका अनुसार यस अवधारणाले एनसेलका सेवा विस्तारसँगै स्थानीय उद्यमशीलतालाई समेत प्रोत्साहन गर्नेछ।
कम्पनीका अनुसार ग्राहकले मोबाइल एपमार्फत सञ्चालन गरेका विभिन्न योजनाका विषयमा थप जानकारी वा सहयोग आवश्यक परे नजिकैको एनसेल सेन्टरमा पुगेर प्रत्यक्ष सेवा लिन सक्नेछन्। यसबाट ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ सुदृढ हुनुका साथै सेवा प्रवाहमा थप सहजता आउने एनसेलको विश्वास छ।
एनसेलले स्थानीय व्यवसायी तथा उनीहरूका साझेदारलाई प्रोत्साहन गर्दै आगामी दिनमा देशका अन्य स्थानमा समेत यस्ता ‘फोफो सेन्टर’ विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।
कम्पनीका अनुसार फोफो अवधारणाले ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउनुका साथै स्थानीय व्यवसाय र उद्यमशीलताको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।