बाँके ।शुभ सन्देश सभा नेटवर्क–नेपाल, बाँकेले नुवाकोटको विदुर नगरपालिका–९ का भोटेकोशी बाढी प्रभावित परिवार तथा विद्यार्थीलाई एक करोड ३७ लाख नौ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
भोटेकोशी बाढीबाट घरबार तथा आफन्त गुमाएका प्रभावित परिवारलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।
राहतबाट विदुर नगरपालिका–९ का करिब सात सय प्रभावित परिवार र एक हजार पाँच सय विद्यार्थी लाभान्वित भएको नेटवर्कका अध्यक्ष डा. डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा वडाध्यक्ष हरिराम भण्डारीले विपद्का बेला सामाजिक संस्थाले गरेको सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुगेको बताउनुभयो ।
उहाँले भोटेकोशी बाढीबाट विस्थापित परिवारको तत्कालीन आवास व्यवस्थापनका लागि नगरपालिकाले मासिक कोठा भाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
नेटवर्कका अध्यक्ष डा. धितालले विपद् सकिएपछि पनि प्रभावितको दुःख नसकिने भएकाले तत्कालीन राहतसँगै उनीहरूको आत्मबल बढाउन सहयोग गरिएको बताउनुभयो ।
उहाँले घर र सम्पत्ति गुमाएका बालबालिकाको शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको बताउनुभयो ।
राहत पाएपछि प्रभावित स्थानीय सुखमायाले आफन्त र घर गुमाएको पीडाका बीच सहयोग पाउँदा आफूहरू एक्लो नभएको अनुभूति भएको बताउनुभयो ।
उहाँले राहत सामग्रीले विपद्पछिको कठिन अवस्थामा ठूलो सहयोग पुगेको बताउनुभयो ।राहत वितरण कार्यक्रममा संस्थाका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता थियो ।