काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरिया र घानाले भोटेकोसी बाढीपीडितका लागि रु ८० लाख सहयोग गरेका छन् ।
एनआरएनए नाइजेरियाले नाइजेरियामा रहेका नेपाली, नेपालका शुभेच्छुक तथा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानबाट सङ्कलित रु ७७ लाखको चेक आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
एनआरएनए नाइजेरियाका तर्फबाट पूर्वअध्यक्षद्वय विश्वास पौडेल र दीपक कर्ण, पूर्वआइसीसी सदस्य मन थापा, संस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष अञ्जु पौडेलले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
सोही अवसरमा एनआरएनए घानाका तर्फबाट भानु पाठकले रु तीन लाखको सहयोग रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्नुभएको थियो ।
भोटेकोसी बाढीपछि प्रभावित परिवारको उद्धार तथा राहतका लागि अफ्रिकी मुलुकमा रहेका एनआरएनए शाखाहरूले सक्रियतापूर्वक सहयोग जुटाउँदै आएका छन् । यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट रु १३ लाख, तान्जानियाबाट रु दुई लाख ५० हजार, दक्षिण अफ्रिकाबाट रु एक लाख ५० हजार र बोत्सवानाबाट रु ५० हजार सहयोग रकम बैंकमार्फत पठाइसकिएको एनआरएनएले जनाएको छ ।
त्यसैगरी एनआरएनए युगान्डाले रु ३५ लाखभन्दा बढी मूल्यका त्रिपाल, ग्यास सिलिन्डर तथा चुल्होलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरिसकेको छ । एनआरएनए केन्याले पनि रु १० लाख नगद सहयोग पठाउने तयारी गरेको जनाइएको छ ।
अफ्रिकाका विभिन्न मुलुकमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदायले विपद्का समयमा मातृभूमिप्रति आफ्नो दायित्व निर्वाह गर्दै राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाइरहेका छन् । अन्य देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदायबाट समेत भोटेकोसी बाढीपीडितका लागि सहयोग प्राप्त भइरहेको जनाइएको छ।