बर्दिया । मानव बेचबिखन रोकथाम तथा नियन्त्रण र बाल संरक्षणलाई प्रभावकारी बनाउन बर्दियाको राजापुर नगरपालिकामा सरोकारवालाहरूबीच समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत आयोजित बैठकमा मानव बेचबिखन, लागुऔषध दुरुपयोग, बालविवाह तथा विद्यालय छाड्ने समस्याको न्यूनीकरणका लागि सामूहिक प्रयास र समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिइएको थियो ।
राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा निर्देशक टीकानाथ गोसाई, वडाध्यक्षहरू, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरी, स्थानीय मानव बेचबिखन नियन्त्रण समिति (एलसीसीएचटी) का सदस्य, सञ्चारकर्मी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकेले परियोजनाको प्रगति तथा उपलब्धिबारे जानकारी गराउनुभएको थियो । उहाँले समुदायमा जनचेतना अभिवृद्धि, बाल संरक्षणका संयन्त्र सुदृढीकरण, सकारात्मक अभिभावकत्व प्रवर्द्धन तथा बालबालिका र युवाको सहभागितामा सञ्चालन गरिएका गतिविधिबारे प्रस्तुति दिनुभएको थियो ।
छलफलका क्रममा सहभागीहरूले मानव बेचबिखन तथा बाल संरक्षणका समस्या एकअर्कासँग सम्बन्धित रहेकाले तिनको समाधानका लागि रोकथाममुखी र समुदायमा आधारित कार्यक्रम आवश्यक रहेको औँल्याएका थिए । उनीहरूले अभिभावक शिक्षा कार्यक्रम विस्तार गर्ने, जोखिममा रहेका परिवारको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने, विद्यालय छाड्ने दर घटाउने तथा जोखिममा रहेका बालबालिकालाई समयमै संरक्षण र सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गिरी र शिक्षा निर्देशक गोसाईले बालबालिकाको पहिचान, संरक्षण र विद्यालयमा निरन्तरता सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, वडा कार्यालय तथा समुदायबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको थियो ।
समापन मन्तव्यमा उपप्रमुख चौधरीले मानव बेचबिखन रोकथाम, लागुऔषध दुरुपयोग नियन्त्रण, बालविवाह न्यूनीकरण तथा विद्यालय छाड्ने समस्या समाधानका लागि सबै सरोकारवालाको साझा जिम्मेवारी र निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बैठकमा भएका छलफल र प्रतिबद्धतालाई वडा तथा समुदायस्तरमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
बैठकमा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिको कार्यप्रणाली प्रभावकारी बनाउने, सामुदायिक जनचेतनामूलक कार्यक्रम विस्तार गर्ने, उच्च जोखिममा रहेका परिवारलाई सहयोग गर्ने, बालबालिकाको विद्यालयमा निरन्तरता सुनिश्चित गर्ने तथा सूचना आदानप्रदान, संयुक्त अनुगमन र संरक्षण सेवाका लागि सिफारिस प्रणाली सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सुरक्षा परियोजना प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा कार्यान्वयन भइरहेको छ । परियोजनाले बाल संरक्षण सुदृढीकरण तथा सुरक्षित, समावेशी र बालमैत्री समुदाय निर्माणका लागि स्थानीय सरकार र सरोकारवालासँग सहकार्य गर्दै आएको छ ।