बाँके । साबिक गंगापुर गाउँ विकास समितिका अध्यक्ष (प्रधान) तथा नरैनापुर गाउँपालिका–६ का संस्थापक वडाध्यक्ष वीरेन्द्र पाल सिंहको उपचारका क्रममा निधन भएको छ ।
सिंहको निधनप्रति नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले दुःख व्यक्त गर्दै उहाँको निधनले नरैनापुरले एक अनुभवी, दूरदर्शी र जनताप्रति समर्पित नेतृत्व गुमाएको बताउनुभएको छ ।
अध्यक्ष शाहले सिंहको निधनको खबरले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै स्थानीय तहको विकास, सामाजिक रूपान्तरण र जनसेवाका क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको छ ।
“वीरेन्द्र पाल सिंह केवल जनप्रतिनिधि मात्र हुनुहुन्थेन, उहाँ समाजलाई सही दिशातर्फ डो¥याउने बौद्धिक व्यक्तित्व, दूरदर्शी चिन्तक र जनताको सुख–दुःखमा साथ दिने समाजसेवी हुनुहुन्थ्यो,” अध्यक्ष शाहले भन्नुभयो, “उहाँको निधनले नरैनापुरले एक असल अभिभावक, अनुभवी नेतृत्व र प्रेरणादायी व्यक्तित्व गुमाएको छ । उहाँले समाज र जनताको हितमा पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ ।”
सिंह साबिक गंगापुर गाउँ विकास समितिको अध्यक्ष (प्रधान)का रूपमा समेत नेतृत्वदायी भूमिकामा रहनुभएको थियो । स्थानीय शासनको अभ्यासदेखि गाउँको सामाजिक तथा पूर्वाधार विकाससम्म उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयको भनाइ छ ।
नरैनापुर गाउँपालिका स्थापना भएपछि वडा नं. ६ का संस्थापक वडाध्यक्षका रूपमा समेत उहाँले जिम्मेवारी सम्हाल्नुभएको थियो । नयाँ संरचनाअनुसार स्थानीय सरकार सञ्चालनको प्रारम्भिक चरणमा जनताको आवश्यकता पहिचान गर्दै विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्न उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।
सिंहलाई बौद्धिक क्षमता, स्पष्ट दृष्टिकोण, सामाजिक सम्बन्ध र समन्वयकारी भूमिकाका कारण स्थानीयस्तरमा सम्मानित व्यक्तित्वका रूपमा लिइन्थ्यो । उहाँले राजनीतिक तथा सामाजिक जीवनमा व्यक्तिगत स्वार्थभन्दा समुदायको हितलाई प्राथमिकता दिँदै आएको स्थानीय बताउँछन् ।
अध्यक्ष शाहले सिंहको निधनले परिवारजनसँगै स्थानीय समुदाय र नरैनापुरको सामाजिक तथा राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।
“उहाँको अभाव अब लामो समयसम्म महसुस हुनेछ । उहाँले देखाउनुभएको सामाजिक सद्भाव, जनसेवा र विकासप्रतिको प्रतिबद्धताको बाटो आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्नेछ,” उहाँले भन्नुभयो ।
अध्यक्ष शाहले दिवंगत सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गर्नुभएको छ ।
सिंहको निधनले नरैनापुरले स्थानीय विकास र सामाजिक सेवाका क्षेत्रमा लामो अनुभव बोकेको एक अग्रणी व्यक्तित्व गुमाएको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन् । उहाँको योगदान र सार्वजनिक जीवनमा निर्वाह गर्नुभएको भूमिकालाई भावी पुस्ताले समेत स्मरण गर्ने स्थानीयको भनाइ छ ।