बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेका बेला बाँकेका विभिन्न मस्जिद तथा मुस्लिम समुदायले पनि मानवीय सहयोगको हात बढाएका छन् ।
उलामा फाउन्डेसन नेपाल, बाँकेको पहलमा विभिन्न मस्जिद तथा मुस्लिम समुदायबाट संकलित रु. एक लाख ५८ हजार दुई सय ३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद्को पीडामा रहेका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले धर्मगुरु, नमाजी तथा स्थानीय मुस्लिम समुदायको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।
उलामा फाउन्डेसन नेपाल बाँकेले आयोजना गरेको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष मौलाना नसरुद्दीन अन्सारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको भौचर बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई हस्तान्तरण गर्नुभयो ।
भौचर हस्तान्तरण गर्दै अध्यक्ष अन्सारीले विपद्मा परेका नागरिकको पीडामा केही भए पनि मल्हम लगाउने उद्देश्यले आफ्नो तलब तथा स्थानीय समुदायको सहयोगमा रकम संकलन गरिएको बताउनुभयो ।
“हामीले दिएको रकम ठूलो नहुन सक्छ, तर विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीको पीडामा हाम्रो पनि साथ छ भन्ने सन्देश दिन चाहेका हौँ,” उहाँले भन्नुभयो, “मानवीय दुःखको कुनै जात, धर्म वा सीमा हुँदैन। त्यसैले पीडित नागरिकको उद्धार र राहतमा हामी सबै मिलेर अघि बढ्नुपर्छ ।”
उहाँले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्दै विपद् प्रभावित नागरिकका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बाँके क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले विपद्को यस कठिन घडीमा राजनीतिक, धार्मिक तथा सामाजिक विभाजनभन्दा माथि उठेर मानवीय भावनाका साथ पीडितको साथमा उभिनुपर्ने बताउनुभयो ।
उहाँले विभिन्न मस्जिद तथा मुस्लिम समुदायबाट स्वस्फूर्त रूपमा भइरहेको सहयोगले विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने काम गरेको उल्लेख गर्नुभयो ।
“आज पीडित नागरिकलाई हाम्रो साथ चाहिएको छ। यस्तो बेला आलोचना र आरोप–प्रत्यारोपभन्दा सहयोगी हात अघि बढाउनु ठूलो कुरा हो,” सांसद राईले भन्नुभयो, “सरकार आफ्नो जिम्मेवारीअनुसार उद्धार, राहत र पुनःस्थापनामा काम गरिरहेको छ। त्यसलाई थप बल पुग्ने गरी हामी सबैले आफ्नो ठाउँबाट सहयोग गरौँ र मानवताको उदाहरण प्रस्तुत गरौँ ।”
उहाँले विपद् कुनै व्यक्ति, समुदाय वा भूगोल विशेषको मात्र समस्या नभएकाले सबै नेपाली एकताबद्ध भएर पीडित नागरिकको साथमा उभिनुपर्नेमा जोड दिनुभयो ।
सहयोग रकमको भौचर बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुस्लिम समुदायबाट प्राप्त सहयोगको प्रशंसा गर्दै विपद्को समयमा गरिएको मानवीय सहयोगको महत्व ठूलो हुने बताउनुभयो ।
“धर्मगुरुहरूले आफ्नो तलबबाट र मुस्लिम समुदायका दाजुभाइहरूले आफ्नो एक छाकको रकम बराबरको सहयोग गरेर पीडित नागरिकको दुःखमा साथ दिनुभएको छ। यो रकमभन्दा पनि त्यसमा जोडिएको मानवीय भावना प्रशंसनीय छ,” प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो ।
उहाँले विपद्को समयमा राज्यका सबै संयन्त्रसँगै नागरिक, धार्मिक समुदाय, सामाजिक संघसंस्था र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। “यो प्रलयको बेला हो, यस्तो अवस्थामा हामी सबै मिलेर पीडितको हात समात्नुपर्छ। सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारमा ठूलो आशा जगाउन सक्छ,” उहाँले भन्नुभयो ।
उहाँले सहयोग गर्ने सबै व्यक्ति, मस्जिद तथा धार्मिक समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्यको अपेक्षा गर्नुभयो ।
उलामा फाउन्डेसन लुम्बिनी प्रदेशका इन्चार्ज मुफ्ती कहफुलवरा खानका अनुसार मदिना नुरी मस्जिद, गणेशपुर–४ बाट सबैभन्दा बढी रु. ४८ हजार तीन सय ५० सहयोग प्राप्त भएको छ।
त्यस्तै शहादत मस्जिद, परसपुर–१७ बाट रु. १६ हजार, नुरी जामा मस्जिद, जमुनहा–१५ बाट रु. १२ हजार आठ सय, सुन्नी जामा मस्जिद, बिर्ता–२१ बाट रु. १२ हजार दुई सय तथा हलीमा मस्जिद, जानकी–३ बाट रु. ११ हजार तीन सय ७० सहयोग प्राप्त भएको छ ।
त्यसैगरी हुसैन मस्जिद, मनपुरवा–१४ बाट रु. १० हजार सात सय ९५, गाजी मस्जिद, चौलिक्का–१० बाट रु. सात हजार सात सय ८६, नुरी मस्जिद मदरसा नुरे मदिना, नहरपुरवा–२१ बाट रु. सात हजार, नुरी मस्जिद, कारकाँदो–१८ बाट रु. पाँच हजार, इब्राहिमिया मदिना मस्जिद, डुडुवा–२ बाट रु. तीन हजार चार सय ५०, रजा मस्जिद, डुडुवा–३ बाट रु. तीन हजार एक सय २५ तथा रहमानिया मस्जिद, डुडुवा–३ बाट रु. दुई हजार छ सय ५० सहयोग प्राप्त भएको छ ।
मौलाना हारुन खान अमजदीबाट रु. दुई हजार एक सय, मदिना मस्जिद, फुटाहा–१९ बाट रु. एक हजार नौ सय ८०, हाफिज सुफियान रजाबाट रु. एक हजार, तैयबा मस्जिद, बुलबुलियाबाट रु. छ हजार पाँच सय, नुरे मुस्तफा मस्जिद, पुरैना–२१ बाट रु. एक हजार नौ सय तथा कादरी जामा मस्जिद, नरैनापुर–६ बाट रु. चार हजार दुई सय सहयोग प्राप्त भएको मुफ्ती खानले जानकारी दिनुभयो ।
सहयोग गर्ने सबै मस्जिद, धर्मगुरु तथा नमाजीप्रति जामा मस्जिद नेपालगञ्जका मुफ्ती जाफररजा मिस्बाहीले धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद्को पीडामा रहेका नागरिकका लागि मुस्लिम समुदायले आफ्नो क्षमताअनुसार सहयोग गर्न पाउनु मानवीय दायित्व पूरा गर्ने अवसर भएको बताउनुभयो ।
“आज हामीले आफ्नो समुदायका लागि होइन, सम्पूर्ण नेपालीका लागि सहयोग गरेका छौँ। पीडितको आँसु पुछ्नु, दुःखमा साथ दिनु र संकटमा हात थाम्नु नै मानवताको सबैभन्दा ठूलो धर्म हो,” मुफ्ती मिस्बाहीले भन्नुभयो ।
भौचर हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका तर्फबाट मौलाना मोहम्मद नसीरुद्दीन अन्सारी, मुफ्ती मोहम्मद कहफुलबरा खान, कारी अजमत अली, हाजी रज्जब अली अन्सारीलगायतको सहभागिता थियो ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि देशका विभिन्न स्थानमा व्यक्तिगत, संस्थागत तथा सामुदायिक रूपमा सहयोग जुटिरहेका बेला बाँकेका मस्जिद तथा मुस्लिम समुदायबाट गरिएको यो सहयोगले विपद्को समयमा धार्मिक सद्भाव, सामाजिक एकता र मानवीय सहकार्यको सकारात्मक सन्देश दिएको छ।