डा. मो. ऐनुद्दीन बागबान
हाम्रो समाजमा मानसिक स्वास्थ्य
सम्बन्धी सही जानकारी नभएको कारण धेरै भ्रम एवं भ्रान्तिहरु विद्यमान छन्। समाजमा व्याप्त अल्पज्ञान
तथा अन्धविश्वासको कारणले गर्दा, मानसिक स्वास्थ्य समस्याहरुको समयमै पहिचान तथा उपचार हुन पाइरहेको छैन। फलस्वरूप सामान्य खालका समस्याहरु पनि
जटिल एवं कडा समस्यामा परिवर्तित हुन्छन
र बिरामीहरु दिन प्रतिदिन गम्भीर हुँदै जान्छन।
समयमै यी भ्रमहरू हटाउनको लागि जन चेतना फैलाउनु अत्यन्त जरुरी छ ।
यस कार्यमा
घरपरिवार लगायत समाज र सरकारको अहम् भूमिका रहेको छ । तसर्थ सरकार तथा सम्बन्धित
निकायहरूले मानसिक स्वास्थ्य समस्याबारे समाजमा सही ज्ञानलाई व्यापक बनाउन अति नै आवश्यक
छ।
भ्रम:
मानसिक स्वास्थ्य समस्याहरु कुलदेवता रिसाएको, ग्रहदशा बिग्रेको, लागोभागो आदि भएको
कारणले गर्दा हुने गर्दछन।
यथार्थ:
मानसिक स्वास्थ्य समस्याहरुको वास्तविक कारण मस्तिष्कमा हुने विशेष रासायनहरुको असन्तुलन
हो। जसको पछाडि समाजमा विद्यमान गरिबी, बेरोजगारी, अन्याय, शोषण आदिले बनाएको तनावपूर्ण
जीवनशैली तथा डर, त्रास, असफलता, बिछोड, जनधनको क्षति, नशालु एवं लागू पदार्थको सेवन,
दीर्घकालीन रोगहरुले गर्दा हुने मनको अशान्ति जस्ता मानसिक
तनाव गराउने विभिन्न जैविक, मनोवैज्ञानिक र सामाजिक
कारकतत्वहरुको मुख्य भूमिका रहेको हुन्छ।
भ्रम:
बालबालिकाहरू लाई मानसिक स्वास्थ्य समस्या
हुँदैन l
यथार्थ: विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हेर्ने हो भने ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अघि नै शुरु हुन्छ । प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरी कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको पाइएको छ।
भ्रम:
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू आक्रामक हुन्छन्
l
यथार्थ: मानसिक समस्या भएका केही व्यक्ति मात्र बढी उत्तेजित भएर आक्रामक हुन सक्छन् l बरु प्रायः जसो तिनीहरु स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य सङ्गठन अनुसार
प्रत्येक १० मध्ये ९ जना विरामीहरु कुनै न कुनै रूपमा दुर्व्यवहारको शिकार भइरहेका हुन्छन्। जसलाई
नियन्त्रण गर्नु समाज र सरकारको कर्तब्य हो।
भ्रम: मानसिक स्वास्थ्य समस्या कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई मात्र हुन्छ ।
यथार्थ: मानसिक स्वास्थ्य समस्या जुनसुकै आर्थिक अवस्था भएका व्यक्तिलाई पनि हुनसक्छ । हुन त स्थिर र सम्पन्न समाजभित्र पनि विभिन्न किसिमका समस्याहरु पनि हुन्छन् । तर, जुन समाज अत्यन्त द्रुतगतिमा परिवर्तन भइरहेको छ, त्यहाँ मानसिक समस्या पनि तीब्र गतिमा भइरहेको हुन्छ।
भ्रम:
यी समस्याहरु पुजापाठ, टुनामुना तथा झारफुकबाट मात्र समाधान हुन्छन l औषधिको प्रयोगले निको
हुँदैनन, झन नराम्रो हुन्छ l
यथार्थ:
मस्तिष्कमा भएका विभिन्न रसायनहरुको गडबडीलाई झारफुक गरि सन्तुलनमा ल्याउन सकिन्दैन।
तैपनि झारफुकबाट कैयौं विरामीहरु सन्चो भएका
छन् भन्ने कुराहरु आउने गर्दछन। यथार्थ के हो भने सामान्य खालका मानसिक समस्याहरु बिस्तारै
आँफै पनि ठिक हुन्छन। साथै यसको Placebo Effect ले पनि समस्यालाई नियन्त्रणमा ल्याएको
पनि हुन्
सक्दछ। तर प्रायः समस्याहरु विशेष गरी कडा खालका मानसिक स्वास्थ्य समस्याहरुको उपचार
औषधिबाट मात्र सम्भव छ। झारफुकको नाममा विरामीलाई औषधि उपचारबाट वंचित राख्नु भनेको
उसको मानव अधिकार हनन गर्नु हो।
भ्रम: विवाह गरे पछि यो समस्या ठीक हुन्छ ।
यथार्थ: प्रायः जसो मानसिक
स्वास्थ्य समस्याहरु विवाहपश्चात् झन् बढी च्यापेर आउछन । कसै कसैलाई विवाहपश्चात्
पनि उत्पन्न हुन्छ । तर विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले ठीक पारेको हुन सक्छ ।
भ्रम: एकपल्ट मनोरोग लागेपछि व्यक्ति ठीक हुन सक्दैन ।
यथार्थ: मनोरोग अन्य रोगहरु जस्तै समान्य रोग हो र यो बालक, बुढो, जवान, महिला, पुरुष, धनी, गरिब लाई लाग्छ। मनोरोग
लागेको व्यक्ति पनि समयमै उचित उपचार गरे ठीक हुन्छ । समयमै उपचार नगर्दा मनोरोग पनि बढेर जटिल हुन पुग्छ जसको लागि लामो समय
सम्म औषधी खानु पर्ने अवस्था हुन्छ।
भ्रम:
मनोचिकित्सा अन्तर्गत मगज बिग्रेका विरामीहरुको मात्र उपचार गरिन्छ l
यथार्थ:
मनोचिकित्सा अन्तर्गत मगज बिग्रेका विरामीहरुको उपचार मात्र नभई मानसिक स्वास्थ्यको
प्रवर्धन, उदासीपन, डर,
त्रास ,आत्तिने मनोरोग जस्ता तीनसय भन्दा बढी प्रकारका मनोरोगहरुको
निदान, उपचार तथा रोकथामकासाथै मानसिक विरामीहरुको पुनर्स्थापना जस्ता सबै क्रियाकलापहरु
पर्दछन। छारे रोग, माइग्रेन, नशाको लत र दुव्र्यसनजन्य समस्याहरुको पनि सफल उपचार गरिन्छ।
(लेखक
नेपालगंज मेडिकल कलेजका नशा तथा मनोरोग विशेषज्ञ
हुन l ainuddin.md@gmail.com )