काठमाडौँ । जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् । एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् ।
अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । सो पदमा उनलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको थियो । त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए । तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
सबै पदमा सहमतिका लागि प्रयास भइरहे अन्ततः त्यसको टुङ्गो लगाउन अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको छ । ‘अध्यक्ष यादवले जे निर्णय गर्छन् त्यसमा सबैले स्वीकार गर्ने सहमति भएको छ’ जसपा नेपालका नेता पूर्ण बस्नेतले भने ।
एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए। एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।
२ जना महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका थिए । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २०१ पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुनेभएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नेपर्ने घोषणा अध्यक्ष यावदले गरेका थिए ।