नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठीपुरस्थित टावर चोकमा ११ हजार भोल्टको विद्युत् लाइनअन्तर्गत ढल्किएको पोल सिधा गर्ने क्रममा सुरक्षा उपकरण प्रयोग नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले सम्बन्धित कर्मचारीसँग लिखित स्पष्टीकरण माग गर्ने जनाएको छ ।
ढल्किएको विद्युत् पोल सिधा गर्न ग्रामीण फिडर करिब १५ मिनेट सटडाउन गरी प्राधिकरणका कर्मचारीले काम गरेका थिए। कामका क्रममा विद्युत् सुरक्षाका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण प्रयोग नगरेको पाइएपछि वितरण केन्द्रले घटनालाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण माग गर्ने छ ।
नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जय मिश्राले विद्युत् मर्मत तथा प्राविधिक काममा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले सुरक्षाका आवश्यक उपकरण प्रयोग नगरी मनोमानी ढङ्गले काम गर्ने कर्मचारीलाई पहिलो चरणमा सचेत गराइने र पुनः त्यस्तो कार्य दोहोरिएमा नियमानुसार कारबाही गरिने स्पष्ट पार्नुभयो।
“विद्युत् क्षेत्रमा काम गर्दा सामान्य लापरबाहीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्छ। त्यसैले सबै कर्मचारीले तोकिएका सुरक्षा मापदण्ड र उपकरण अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ,” प्रमुख मिश्राले भन्नुभयो।
उहाँले विद्युत् पोल, तार तथा अन्य संरचना मर्मतका क्रममा प्राविधिक दक्षतासँगै सुरक्षा मापदण्डको पूर्ण पालना गर्न कर्मचारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो।
विद्युत् प्रसारण तथा वितरण प्रणालीमा कार्यरत प्राविधिक कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै प्राधिकरणले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउँदै आएको भए पनि त्यसको उचित प्रयोगसमेत सुनिश्चित गर्नुपर्नेमा वितरण केन्द्रले जोड दिएको छ।