उर्लँदो राप्ती, कमजोर डुङ्गा: राज्यको नजरबाट ओझेलमा तीन पालिका”
२४ वैशाख २०८३, बिहीबार
बाँके । राप्ती नदीको उर्लँदो धारसँग जुध्दै बाँकेका तीन गाउँपालिका—राप्तीसोनारी, डुडुवा र नरैनापुरका स्थानीय बासिन्दा वर्षौंदेखि ज्यानकै बाजी लगाएर डुङ्गामा नदी वारपार गर्न बाध्य छन्। विकासका ठूला भाषण र आश्वासनबीच यहाँका जनजीवन भने अझै जोखिम, डर र असहजताकै घेरामा कैद छ।
यी तीनै पालिकाका अधिकांश किसानको खेतीपाती नदी पारि डुडुवातर्फ रहेकाले दैनिक जीवनयापनकै लागि पनि नदी तर्नै पर्ने बाध्यता छ। त्यसमा पनि सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगन्ज छिटो पुग्न डुङ्गा नै सहज विकल्प भएकाले स्थानीयको जोखिमपूर्ण यात्रा अझै रोकिएको छैन ।
डुडुवा गाउँपालिका–१ कुडुवाका ६५ वर्षीय अमिरका लोहारको आवाजमा पीडा मात्रै होइन, निराशा र अपेक्षाको मिश्रण स्पष्ट सुनिन्छ । “पिप्रहवाघाटमा पुल बनाइदिनुहोस् भनेर हामीले दशकौँदेखि माग गर्दै आएका छौँ, तर सधैँ आश्वासन मात्रै पाइयो,” उहाँ भन्नुहुन्छ।
वर्षातको मौसम सुरु हुनेबित्तिकै यहाँको त्रास बढ्छ। उर्लँदो बाढीले पटक–पटक डुङ्गा दुर्घटना गराउँदा धेरै स्थानीयले ज्यान गुमाएका छन्। “सरकारको ध्यान कहिले जाला?” भन्ने प्रश्न अझै अनुत्तरित छ। यद्यपि, पछिल्ला राजनीतिक परिवर्तनसँगै फेरि एकचोटि आशा पलाएको उहाँको भनाइ छ ।
लोहारले करिब ४० वर्षअघिको भयावह दुर्घटना सम्झिँदै भन्नुभयो, “एक सयजना सवार डुङ्गा दुर्घटनामा परेको थियो, धेरैजना फर्केनन्।” त्यो घटना आज पनि यहाँका बासिन्दाको स्मृतिमा गहिरो घाउ बनेर बसेको छ ।
डुडुवा–१ चौफेरीका ७० वर्षीय पहलवान यादवका लागि बर्खा भनेको केवल पानी होइन, त्रास र असहायता हो । “पारि खेतबारी, वारि घर, बीचमा विशाल राप्ती नदी,” उहाँको स्वर भारी हुन्छ ।
“सानो डुङ्गा बाहेक कुनै विकल्प छैन। त्यसैले हरेक दिन ज्यान जोखिममा हालेर नदी तर्छौं,” उहाँ भन्नुहुन्छ।
विगतका नेता र मन्त्रीले दिएको आश्वासन सम्झँदै उहाँ थप्नुहुन्छ, “अब त देश परिवर्तन भयो भनिन्छ, हाम्रो जीवन कहिले बदलिन्छ ?”
नदीसँग जोडिएको यो संघर्ष केवल किसानको मात्र होइन। विपत चौहानजस्ता डुङ्गा चलाउनेहरूको जीवन पनि त्यत्तिकै जोखिमपूर्ण छ। “मेरो बाउबाजेले यही काम गरेर जिन्दगी बिताए, म पनि यही पेशामा छु,” उहाँ भन्छन्।
तर उहाँको चिन्ता अर्को छ,“डुङ्गा पुरानो भइसक्यो, जोखिम झन् बढ्दै गएको छ। स्थानीय सरकारले नयाँ डुङ्गा व्यवस्था गरिदिए पनि केही राहत हुन्थ्यो ।”
राप्ती नदीमा पिप्रहवा, सतीघाट र कुडुवा घाट गरी तीन प्रमुख घाट छन्, जहाँ सानो डुङ्गाबाटै वारपार गरिन्छ। वर्षौँदेखि डुङ्गा चलाउँदै आएका दुखरन मौर्यका अनुभव त झनै डर लाग्दा छन्। “बाढी आउँदा डुङ्गा बगाउँछ, कहिलेकाहीँ त ज्यानै जोगियो भनेर भगवानलाई धन्यवाद दिनुपर्छ,” उहाँ सम्झनुहुन्छ ।
उहाँका अनुसार, यो यात्रा केवल कठिन होइन अत्यन्त जोखिमपूर्ण छ, जसको अन्त्यका लागि पुल निर्माण अपरिहार्य भइसकेको छ ।
यो पीडा स्वास्थ्य सेवामा समेत देखिन्छ । डुडुवा १ होलिया स्वास्थ्य चौकी कि अनमी सिमा घर्तिमगर खान भन्नुहुन्छ, “खोप कार्यक्रम सञ्चालन गर्न हामीलाई पनि ज्यान जोखिममा हालेर डुङ्गामा कुडुवा पुग्नुपर्छ।”
यदि पुल बन्यो भने, केवल स्थानीयको जीवन सहज हुने मात्र होइन, स्वास्थ्य र अन्य सेवा प्रवाह पनि सुरक्षित र प्रभावकारी हुने उनको विश्वास छ ।
राप्तीको किनारमा बसेका यी बस्तीहरू आज पनि राज्यको उपेक्षाको प्रतीक जस्तै देखिन्छन् । जहाँ विकासको वाचा छ, तर व्यवहारमा जोखिम र अभाव मात्र । पुलको पर्खाइमा यहाँ पुस्तौँ बितिसक्यो अब प्रश्न उठ्छ, अझै कति पुस्ताले यही पीडा भोग्नुपर्ने हो ?