बाँके । ग्रामीण क्षेत्रका नागरिकलाई आधारभूत सेवा तथा सुविधा सहज रूपमा उपलब्ध गराउँदै गाउँमै बस्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यसहित बाँकेको नरैनापुर गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ग्रामीण क्षेत्रको विकास र स्थानीय नागरिकको जीवनस्तर सुधारका लागि स्वास्थ्य, शिक्षा तथा पूर्वाधारको पहुँच विस्तार गर्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य संस्थाहरूको निरीक्षणका क्रममा उहाँले गाउँबस्तीमा आधारभूत सेवा विस्तार गरी नागरिकलाई आफ्नै ठाउँमा बस्न सक्ने वातावरण बनाउनु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
“ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारमा जोड्नुपर्छ भन्ने मेरो मान्यता हो । गाउँमा मानिसहरू कसरी टिकाइराख्ने भन्ने विषयमा अहिले पालिकाले काम गरिरहेको छ,” अध्यक्ष शाहले भन्नुभयो ।
स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने सरकार भएकाले स्थानीय आवश्यकताका आधारमा अघि सारिएका विकास योजनामा प्रदेश तथा संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । स्थानीय तहको विकाससम्बन्धी दृष्टिकोणलाई माथिल्ला सरकारले साथ दिन सके ग्रामीण क्षेत्रको विकासले गति लिने उहाँले बताउनुभयो ।
अध्यक्ष शाहले गाउँपालिकाका सबै वडाको समानुपातिक विकासमा जोड दिँदै सडक तथा अन्य पूर्वाधारको पहुँचबाट पछाडि परेका बस्तीलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रको सुधार र सेवा विस्तारलाई आफूले कार्यकालको सुरुदेखि नै प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले गाउँपालिकामा निर्माण गरिएको अस्पताल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अस्पताल सञ्चालनका लागि तयारी गरिए पनि संघीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसक्दा चुनौती थपिएको उहाँको भनाइ छ । आवश्यक सहयोग र स्रोत व्यवस्थापनको चुनौतीका बाबजुद आफ्नै कार्यकालमा अस्पताल सञ्चालन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
यसैबीच, ग्रामीण तथा दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले नरैनापुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीले घरदैलोमै पुगेर स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिरहेको छ ।
स्वास्थ्यकर्मीहरू गाउँ/बस्तीमै पुगेर आधारभूत स्वास्थ्य सचेतना, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, विभिन्न रोगको रोकथाम तथा समयमै उपचार गराउनुपर्ने विषयमा नागरिकलाई जानकारी गराउँदै आएका छन् । विशेषगरी स्वास्थ्य संस्थासम्म सहजै पुग्न नसक्ने विपन्न परिवार, ज्येष्ठ नागरिक तथा महिलाहरूका लागि घरदैलो स्वास्थ्य शिक्षा अभियान उपयोगी बनेको छ ।
स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यका अनुसार स्वास्थ्यकर्मी स्वयं बस्तीमा पुगेर परामर्श दिन थालेपछि स्थानीय नागरिकमा स्वास्थ्यप्रतिको चासो र सचेतना बढ्दै गएको छ ।
“ग्रामीण भेगका प्रत्येक नागरिकसम्म आधारभूत स्वास्थ्य शिक्षा र चेतना पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो । स्वास्थ्यकर्मीहरू बस्ती–बस्तीमा पुगेर परामर्श दिन थालेपछि स्थानीय बासिन्दामा स्वास्थ्यप्रतिको चासो बढेको छ । नागरिकको मुस्कान र विश्वासले हामीलाई थप ऊर्जा मिलेको छ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले ग्रामीण क्षेत्रको समग्र विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय शिक्षा र सडक तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय आवश्यकतामा आधारित योजनाहरू कार्यान्वयन भइरहेको बताउनुभयो ।
उहाँका अनुसार गाउँबस्तीमै सेवा र सुविधा विस्तार गर्दै नागरिकलाई आफ्नै ठाउँमा सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले जनमुखी कार्यक्रम अघि बढाएको छ ।
नरैनापुरजस्तो ग्रामीण तथा सीमावर्ती क्षेत्रमा विकासको वास्तविक अनुभूति दिलाउन भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवाको पहुँच विस्तार महत्त्वपूर्ण मानिन्छ । स्थानीय सरकारको पहल, स्वास्थ्यकर्मीको सक्रियता र तीनै तहका सरकारबीचको समन्वय प्रभावकारी हुन सके ग्रामीण बस्तीको जीवनस्तर सुधार हुनुका साथै गाउँबाट हुने बसाइँसराइ न्यूनीकरणमा समेत सहयोग पुग्ने छ ।