बाँके । बाँकेको डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँलगायत पाँच बस्तीमा ५० वर्षपछि पहिलोपटक बिजुली बलेको क्षण स्थानीयका लागि केवल सामान्य घटनामात्र भएन, यो वर्षौँदेखि उज्यालोको प्रतीक्षा गरिरहेका गाउँलेहरूको जीवनमै परिवर्तन ल्याउने ऐतिहासिक पल बन्यो ।
भारतको दशगजा, राप्ती नदी र डुडुवा खोलाबीच सिमानाको टापुजस्तै टाढा परेका यी बस्तीहरू विद्युत्, शिक्षा, सडक र स्वास्थ्य सुविधाबाट दशकौँसम्म पूर्णरूपमा वञ्चित रहँदै आएका थिए। आज बत्ती बल्नेबित्तिकै घर–घरमा झलमलिएको उज्यालोसँगै चौफेरीको आँगनमा ठूलो पर्व आएजस्तै वातावरण बनेको छ ।
स्थानीयवासीहरूले बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेप्रति कृतज्ञता व्यक्त गर्दै भने,“बुढेसकालमा आएर उज्यालो देख्यौँ । अब सडक, विद्यालय र स्वास्थ्य पनि चौफेरीसम्म आइपुगोस् ।”
गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी आठ वर्षमा थोरैपटक मात्र गाउँ पुग्न सके पनि विद्युत् विस्तारका लागि गरेको पहल लागि स्थानीयले आभार प्रकट गरेका छन् । तर उनीहरूको मुख्य आवाज अझै स्पष्ट छ,‘यो उज्यालोले अब विकासका अरू आधार पनि ल्याओस् ।'
७० वर्षीय तिर्थराम यादवको आँखामा झलमलिएको बत्तीभन्दा बढी चमक थियो आनन्द र पीडा दुवैको मिश्रित भाव ।
“टुक्कीको धुवाँ खाँदै, बालेर, बोकेर जीवन बितायौँ । कहिल्यै बत्तीको आशै थिएन। तर ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ भएपछि उज्यालो आइपुग्यो ।”
उहाँका अनुसार विगतमा केही गाउँमा लाइन लगे पनि चौफेरीलाई पटक पटक उपेक्षा गरियो । हरेक चुनावमा विकासका वाचा आए, तर व्यवहारमा केहि पनि भएन।
“अँध्यारोसँगै बाँच्यौँ । नेताहरू आए–गए, तर हाम्रा घरमा बत्ती बल्दैनथ्यो।” यादवको आवाजमा वर्षौँको आक्रोश मिसिँदै ।
उहाँको भनाइमा उज्यालो नआएको मात्र थिएन, अँध्यारोले मानिसहरूको मन, सोच र भविष्य नै थुनेको थियो।
चौफेरी गाउँ भौगोलिक रूपमा केवल दुर्गम मात्र होइन, जोखिमयुक्त पनि हो ।
वर्षाको भेल आउँदा बाढीले घेर्छ, नदीको कटानले बस्ती डुबाउँछ, र गर्मीयाममा आगलागीले ठूला–ठूला पीडा पारीरहन्छ ।
चौफेरीका बासिन्दाले वर्षौंदेखि विपद् सहेर, अँध्यारोको जीवन भोग्दै आइरहेका थिए । तर बत्ती पुगे पछि स्थानीय भन्छन्,“अब कम्तीमा रातमा डर कम हुन्छ, बाढी आउँदा पनि केही देखिन्छ। बत्तीले हाम्रो पीडा केही कम गरिदियो ।”
उपचारका लागि भारत निर्भरता :
गाउँमा कहिलेकाहीँ स्वास्थ्यकर्मी आएर सामान्य चेकजाँच गर्ने गर्छन् । तर गम्भीर अवस्थामा भने गाउँले भारतकै शहरहरूमा उपचार खोज्न बाध्य छन्।
यादवले भन्नुभयो,“भारत जानु सहज छ, बाटो राम्रो छ। नेपालगञ्ज जानु भनेको कष्ट दुःखको लामो यात्रा । त्यसैले नानपारा, बहराइच, बाबागंजमै उपचार गराउँछौ ।”
भारत नजिक हुँदा चौफेरीका जनता औषधि उपचार, श्रम सबै सीमा–पारीबाटै पूरा गर्दै आइरहेका छन् ।
उज्यालोले अब नेपालको सेवासुविधा पनि नजिकिन्थ्यो कि भन्ने आशा गाउँलेहरूको मनमा रोपेको छ।
उज्यालोसँगै विकासको नयाँ यात्रा सुरू
५० वर्षपछि आएको बिजुली केवल बल्ने बत्ती मात्र होइन यो चौफेरीका लागि नयाँ भविष्यको ढोका हो । यो आशा हो। यो आत्मविश्वास हो। यो विकासको संकेत हो ।
उज्यालो देखेपछि गाउँलेको पहिलो आवाज,“अँध्यारो पराजित भयो, अब विकासले पनि गाउँ समृध्द बनोस् ।”
स्थानीय मन्त्री घिसिङ संग अब सडक, विद्यालय, स्वास्थचौकी, सफा खानेपानी, राहतमूलक पूर्वाधार लगायतका सुविधाको अपेक्षामा छन् ।
उज्यालोले चौफेरीमा केवल घर मात्र उज्यालो बनाएको छैन लामो समयदेखि छायाँमा परेको गाउँको भविष्य पनि प्रकाशले स्पर्श गरेको छ ।
गाउँले आज अनुभव गरेको उज्यालो दशकौँदेखि बाँकी राखिएको विकासको वाचा पूरा हुने पहिलो संकेत हो ।