बाँके । दुर्गा मूर्तिको विसर्जन गर्ने क्रममा नेपालगन्जमा केही व्यक्तिबीच भएको विवादलाई प्रहरीले तत्काल नियन्त्रणमा लिँदै ठूलो अप्रिय घटना हुनबाट जोगाएको छ। घटनामा संलग्न उच्छृंखल गतिविधि गर्ने व्यक्तिहरूमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्ने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आज शनिबार बसेको सर्वपक्षीय बैठकमा दोषी पहिचान गरी कारबाही गर्ने र कारबाही प्रक्रियामा सबै पक्षले सहयोग गर्ने निर्णय गरिएको हो । बैठकले आपसी रिस–राग, झगडा र अविश्वासलाई त्यागी सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ। साथै, जिल्लामा प्रहरी प्रशासनको स्वीकृति बिना कुनै पनि किसिमका नारा, जुलुस, सभा, सम्मेलन वा र्याली नगर्न सर्वसम्मत निर्णय भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो।
प्रहरी प्रमुख जिसीका अनुसार सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रवाह गर्नेहरूमाथि निगरानी बढाइने र आवश्यक परेमा साइबर अपराधअन्तर्गत कारबाही उल्लेख गर्नु भयो । बैठकमा प्रहरी प्रशासनका प्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाजका अभियन्ता लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
नेपालगन्जको अवस्था अहिले पूर्णरूपमा सामान्य छ। संवेदनशील क्षेत्रहरूमा अतिरिक्त प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ।
शुक्रबार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडकखण्डमा केहि व्यक्तिहरु बिच सामान्य विवाद भए पनि प्रहरीको सक्रियता र प्रभावकारी व्यवस्थापनका कारण ठूलो अप्रिय घटना हुन पाएन । विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीसहित करिब ३० जना घाइते भएका थिए । अधिकांश सामान्य उपचारपछि घर फर्किएका छन् भने ४ जनाको भेरी अस्पताल र निजी नर्सिङ होममा उपचार भइरहेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार यो घटना कुनै धर्म वा सम्प्रदायबीचको होइन, केही व्यक्तिको उच्छृंखल व्यवहारका कारण उत्पन्न भएको हो। त्यसैले यसलाई धार्मिक कोणमा नजोड्न सबैलाई अनुरोध गरिएको छ ।