खान स्पोर्ट्स क्लबको आयोजनामा ‘वार्ड कप’ क्रिकेट प्रतियोगिता हुँदै
विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पाउने
३० कार्तिक २०८३, आइतबार
बाँके । खेलकुदको माध्यमबाट युवाहरूको प्रतिभा उजागर गर्ने, क्रिकेटप्रति आकर्षण बढाउने तथा स्थानीय स्तरमा खेलकुदको विकास गर्ने उद्देश्यसहित खान स्पोर्ट्स क्लबले ‘वार्ड कप’ क्रिकेट प्रतियोगिताको पहिलो सिजन आयोजना गर्ने भएको छ।
क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता कात्तिक २८ गतेदेखि बाँकेको खजुरा गाउँपालिकाको उधारापुरस्थित सयद बाबा क्रिकेट मैदानमा सञ्चालन हुने क्लबका अध्यक्ष मुकिम खानले जानकारी दिनु भयो ।
प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही २ हजार ५०० रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि प्रवेश शुल्क ४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति कात्तिक २७ गते तोकिएको आयोजकले जानकारी दिएको छ।
स्थानीय युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, अनुशासन र एकताको भावना विकास गर्ने प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन इच्छुक टोलीले आयोजकले उपलब्ध गराएका मोबाइल नम्बर ९७०५५३४८४९, ९८०४५९९६९३ र ९८०४५१२८९३ मा सम्पर्क गर्न सक्नेछन्।
‘प्ले हार्ड, ड्रीम बिग, विन टुगेदर’ अर्थात् मेहनतका साथ खेलौँ, ठूलो सपना देखौँ र मिलेर जितौँ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय क्रिकेट खेलको विकासमा नयाँ उत्साह थप्ने विश्वास आयोजकले लिएको छ।
खेललाई सफल बनाउन खजुरा ४ का वडा अध्यक्ष गरिबे शेषले २ लाख क्लवलाई सहयोग गर्नु भएको क्लबका अध्यक्ष खानले जानकारी दिनु भयो ।