बाँके । बाँकेको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवलाई पितृशोक परेको छ । उहाँका पिता, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा सामाजिक व्यक्तित्व सिताराम यादवको बुधबार दिउँसो निधन भएको हो ।
स्वर्गीय यादव नेपाली कांग्रेसमा आबद्ध निष्ठावान् र इमानदार सदस्यका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ स्थानीय सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको थियो । सामाजिक तथा राजनीतिक क्षेत्रमा आबद्ध रहँदै समाजमा योगदान पुर्याउनुभएका यादवको निधनले परिवार, आफन्त, स्थानीय समुदाय र नेपाली कांग्रेसमा शोक छाएको छ ।
स्वर्गीय यादवको हिन्दू परम्पराअनुसार बिहीबार दिउँसो २ बजे जानकी गाउँपालिका–५ स्थित घरनजिकैको बगैँचामा अन्त्येष्टि गरिएको छ ।
अन्तिम संस्कारमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री भण्डारीलाल यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेल, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, संविधानसभा सदस्य आशा विक, नेपाली कांग्रेसका नेता लक्ष्मीनारायण शाह, नकि खाँलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, आफन्त तथा ठूलो सङ्ख्यामा स्थानीय शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
अन्तिम संस्कारमा सहभागी जनप्रतिनिधि, राजनीतिकर्मी तथा शुभेच्छुकहरूले स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।
स्वर्गीय यादवको निधनले एक निष्ठावान् राजनीतिक कार्यकर्ता र सामाजिक व्यक्तित्व गुमाएको भन्दै आफन्त तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन् । उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।